समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन दलकाे कति ?
काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्वलाई अझ मजबुद बनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाले ५० लाख मतको आँकडा पार गर्दै ऐतिहासिक अग्रता कायम गरेको हो।
बुधबार बिहान ३:३० बजेसम्मको तथ्याङ्कअनुसार कूल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ। जसमध्ये रास्वपाले मात्रै ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ। यो कूल गणना भएको मतको झण्डै ४८ प्रतिशत हिस्सा हो।
आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १७ लाख ४५ हजार ९५४ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा (एमाले) १४ लाख ४७ हजार ६६४ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा पहिलो शक्ति बनेको एमाले यसपटक समानुपातिकमा उल्लेख्य तल झरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा): ८ लाख २ हजार ७४३ मत
श्रम संस्कृति पार्टी: ३ लाख ७८ हजार ४७८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ३ लाख २९ हजार १९७ मत
जनता समाजवादी पार्टी (जसपा) नेपाल: १ लाख ७४ हजार ३०५ मत
राष्ट्रिय परिवर्तन पार्टी: १ लाख ७१ हजार ४४४ मत
जनमत पार्टी: ७८ हजार ९२७ मत
पछिल्लो नतिजाअनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत पछि पार्दै पाँचौँ स्थानमा आफ्नो बलियो उपस्थिति देखाएको छ। देशभरका मतगणना केन्द्रहरूमा गणना अझै जारी रहेको र अन्तिम नतिजा आएपछि दलहरूले पाउने समानुपातिक सिट सङ्ख्याको टुङ्गो लाग्ने निर्वाचन आयोगले जनाएको छ।