प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको मतगणना सम्पन्न, सीट संख्या निर्धारणको गृहकार्य हुँदै 

काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, पछिल्लो समय गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै देशभरको समानुपातिकतर्फको मतगणना कार्य पूरा भएको हो । मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम विवरणसहितका फारमहरू आयोगमा प्राप्त हुने क्रम भने जारी रहेको उनले जानकारी दिए ।

मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिक सिट सङ्ख्या निर्धारणको गृहकार्य सुरु गरेको छ । आयोगका अनुसार आगामी केही दिनभित्रै सिट बाँडफाँटको प्रक्रियाले पूर्णता पाउनेछ ।

आज बिहान ११ बजेसम्मको अद्यावधिक विवरणअनुसार समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मतसहित फराकिलो अग्रता कायम गर्दै पहिलो दल बनेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ र नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४७२ मत हासिल गरेका छन् ।

आयोगका अनुसार यी प्रमुख दलहरूबाहेक अन्य साना दलहरूले भने राष्ट्रिय दलको मान्यता पाउनका लागि आवश्यक पर्ने न्यूनतम मतसीमा (थ्रेसहोल्ड) कटाउन सक्ने स्थिति देखिएको छैन ।