चुनावी खर्च विवरण सार्वजनिक गर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं, २९ फागुन । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई कानुनबमोजिम आफ्नो चुनावी खर्चको विवरण समयमै बुझाउन र सार्वजनिक गर्न निर्देशन दिएको छ।

आयोगका अनुसार, प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फ राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा खर्च विवरण पेस गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण सबैको जानकारीका लागि सार्वजनिक गर्नु अनिवार्य छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्च विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिए। यसरी सार्वजनिक गरिएको विवरणको प्रमाण (पत्रपत्रिकाको कटिङ, वेबसाइटको लिङ्क, स्क्रिनसट वा फोटो) सहित दलहरूले आयोगको केन्द्रीय कार्यालयमा र उम्मेदवारले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ।

तोकिएको समयसीमाभित्र निर्वाचन खर्चको विवरण नबुझाउने वा सरोकारवालाको जानकारीका लागि सार्वजनिक नगर्ने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम कानुनी कारबाही हुने आयोगले चेतावनी दिएको छ।