प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी: बिरामीको आकर्षण बढ्दो
काठमाडौँ, चैत २ । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचारका लागि देशकै एक प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ। विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीहरू औषधि उपचारले सोचेजस्तो सुधार नभएपछि प्राकृतिक पद्धतिबाट उपचार गराउन यहाँ आउने क्रम बढेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे यसपटक दोस्रोपटक तातोपानी कुण्ड आउनुभएको हो। “अघिल्लो पटकको स्नानले ग्यास्ट्रिकको समस्यामा निको भएको थियो, त्यसैलाई निरन्तरता दिन यसपालि फेरि आएको हुँ,” उहाँले भन्नुभयो। चितवनकी चमेली घर्ती क्षेत्री पनि विगत १० वर्षदेखि नियमित रूपमा यहाँ आउने गर्नुहुन्छ। उहाँका अनुसार तातोपानीमा शरीर डुबाउनाले ढाड दुख्ने, अपच हुने र खाना नरुच्ने समस्या समाधान भएको छ, जसले गर्दा अस्पताल धाउनुपर्ने बाध्यता र औषधि खर्चमा समेत बचत भएको छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने बिरेनुनको गन्धयुक्त पानीलाई पोखरीमा संकलन गरी स्नानको व्यवस्था मिलाइएको छ। यस कुण्डमा स्नान गर्दा ग्यास्ट्रिक, वाथ, छाला सम्बन्धी समस्या र पुरानो चोटपटक निको हुने जनविश्वास रहेको छ ।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार हाल दैनिक करिब १,२०० जनाले कुण्डमा स्नान गरिरहेका छन्। “हामीले बिहान ५:३० देखि साँझ ५:३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै ६ वटा समूह बनाएर स्नानको तालिका मिलाएका छौँ,” समितिका सदस्य मिना जुग्जाली गर्बुजाले जानकारी दिनुभयो। असोजदेखि वैशाख महिनासम्म यहाँ स्नान गर्नेको अत्यधिक चाप रहने गर्दछ । तथ्याङ्कअनुसार गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै कोरिया, पोल्यान्ड, युक्रेन, जापान र भारत लगायतका देशबाट २० हजार ३४७ जनाले यहाँको सेवा लिएका थिए। आर्थिक वर्ष २०८०/८१ मा मात्रै १९ हजार ४०३ जनाले कुण्डमा स्नान गरेका थिए।
कुण्डमा १० दिन स्नान गरेबापत प्रतिव्यक्ति ३५० रुपियाँ शुल्क तोकिएको छ। सो आम्दानीबाट १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ।
बिरामी र पर्यटकको चाप बढेसँगै स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसाय समेत फस्टाएको छ। होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार हाल यहाँका २० वटा साना–ठूला होटल तथा होमस्टेहरू पाहुनाले भरिभराउ छन्। कतिपय पाहुनाहरूले कोठा भाडामा लिएर आफैँ पकाएर खाने व्यवस्था समेत मिलाइएको छ। प्राकृतिक उपचारसँगै म्याग्दी नदीको ‘असला माछा’ यहाँ आउने पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ।