सेयर बजारमा दोहोरो अंकको सुधार : नेप्से १३.५१ अंकले बढ्दा १२ अर्बभन्दा बढीको कारोबार
काठमाडौं, ३ चैत्र । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो दिन घटेर बन्द भएको बजार, मंगलबार भने १३.५१ अंकले वृद्धि हुँदै २८१२.३४ विन्दुमा पुगेर बन्द भएको हो।
समग्र बजार (नेप्से) सँगै ‘सेन्सेटिभ इन्डेक्स’ पनि २.१४ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६७ अंकले उकालो लागेका छन्।
नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। सोमबार ११ अर्ब ९७ करोडको सेयर किनबेच भएको बजारमा मंगलबार कारोबार रकम १२ अर्ब नाघेको छ। यस दिन ३४० वटा कम्पनीका ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर १ लाख ६ हजार १४० पटक खरिदबिक्री हुँदा कुल १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्। त्यस्तै, शिवश्री हाइड्रोपावरको सेयर मूल्य पनि ८ प्रतिशतले बढेको छ। यस दिन मूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ५ प्रतिशतभन्दा कम मात्रै छ।
कारोबार रकमका आधारमा यस दिन जलविद्युत कम्पनीहरूको वर्चस्व रह्यो। रिडी पावर कम्पनीको सर्वाधिक ५६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी, आँखुखोला जलविद्युतको साढे ५१ करोड र नेसनल हाइड्रोपावरको ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ। सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक १.५९ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ। गिरावट आएका अन्य उपसमूहहरूको दर भने न्यून रहेको छ।