सर्वोच्चको फैसलासँगै प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञको आजीवन भत्ता खोसियो, दोहोरो सुविधा लिन नपाइने

काठमाडौं, ३ चैत्र । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ जना प्राज्ञ (आजीवन सदस्य) ले अब उक्त सुविधा नपाउने भएका छन्। राज्यको ढुकुटीबाट दोहोरो सुविधा लिन नपाइने प्रतिष्ठानको निर्णयलाई सर्वोच्चले सदर गरेपछि उनीहरूको भत्ता रोकिएको हो।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले यही चैत १ गते प्राज्ञहरूले दायर गरेको रिट खारेज गरेको हो।

यसअघि, प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको प्राज्ञ परिषद्को बैठकले सरकारी सेवाबाट निवृत्तिभरण (पेन्सन) वा पारिश्रमिक बुझिरहेका आजीवन सदस्यलाई प्रतिष्ठानबाट दिइने दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो। उक्त निर्णय कानुनविपरीत भएको भन्दै पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीसहित ११ जना आजीवन सदस्यले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतबाट रिट खारेज भएसँगै प्रतिष्ठानको निर्णय कार्यान्वयनको बाटो खुलेको छ। प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले अदालतले प्रतिष्ठानको निर्णयलाई अनुमोदन गरेकाले अबदेखि दोहोरो सुविधा रोक्ने निर्णय पूर्ण रूपमा कार्यान्वयन हुने जानकारी दिनुभयो।

सुविधा गुमाउने प्राज्ञहरू को-को हुन्?
सर्वोच्चको यो फैसलासँगै अब पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु (रेग्मी), गङ्गाप्रसाद उप्रेती, प्रा.डा. योगेन्द्रप्रसाद यादव, तीर्थबहादुर श्रेष्ठ, आरडी ‘प्रभास’ (राजेश्वरीदत्त चटौत), अशेष मल्ल, डा. ध्रुवचन्द्र गौतम, तोया गुरुङ, तुलसीप्रसाद जोशी (तुलसी दिवस) र शशिविक्रम शाहले प्रतिष्ठानबाट पाउँदै आएको आजीवन भत्ता गुमाएका छन्।

के थियो विवाद ?
प्रतिष्ठानले सरकारी सेवा वा अन्य निकायबाट तलब, सुविधा वा निवृत्तिभरण (पेन्सन) पाइरहेका आजीवन सदस्यहरूलाई भत्ता नदिने निर्णय गरेको थियो। तर, सुविधा कटौतीमा परेका प्राज्ञहरूले भने आफूहरूले पाउँदै आएको रकम नियमित पारिश्रमिक वा पेन्सन नभई प्राज्ञिक योगदानको कदरस्वरूप राज्यले दिएको ‘सम्मानवृत्ति’ भएकाले यसलाई दोहोरो सुविधा भन्न नमिल्ने जिकिर गर्दै आएका थिए।

यसैबीच, आजीवन सदस्यहरूलाई राज्यकोषबाट दोहोरो सुविधा दिन नहुने माग गर्दै घनेन्द्र ओझाले समेत प्रतिष्ठानविरुद्ध सर्वोच्चमा छुट्टै रिट निवेदन दर्ता गराउनुभएको थियो।