सङ्खुवासभामा सुत्केरीको हवाई उद्धार : थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ, चैत ४ । स्वास्थ्यमा गम्भीर जटिलता देखिएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–१ की एक सुत्केरीको आज हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । २८ वर्षीया सरु राईलाई प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो। अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइए तापनि त्यसलगत्तै उनमा अत्यधिक रक्तस्रावको समस्या देखिएको थियो। बिरामीको अवस्था क्रमिक रूपमा नाजुक बन्दै गएपछि विशेषज्ञ उपचारका लागि उनलाई काठमाडौँ लैजानु पर्ने परिस्थिति सिर्जना भएको हो।

जिल्ला अस्पतालका चिकित्सक डा. प्रदीप श्रीवालका अनुसार, अस्पतालमा उपलब्ध स्रोत र साधनबाट स्वास्थ्य अवस्था नियन्त्रणमा आउन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल रिफर गरिएको हो।

उक्त उद्धार कार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को समन्वयमा गरिएको हो। सङ्खुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले भौगोलिक विकटता र सीमित स्वास्थ्य पूर्वाधार भएका क्षेत्रमा यस्ता आकस्मिक हवाई उद्धार सेवाले नागरिकको ज्यान जोगाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो ।