धुलिखेल–खावा सडक कालोपत्र गरिँदै: दुई हप्ताका लागि रात्रिकालीन आवागमनमा रोक

काभ्रेपलाञ्चोक, ८ चैत्र । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति र कालोपत्र गर्ने कामलाई तीव्रता दिइएको छ। निर्माण कार्यलाई सहज बनाउन डिभिजन सडक कार्यालय भक्तपुरले शनिबार रातिदेखि दुई हप्ताका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ।

कार्यालयका अनुसार चैत ७ गतेदेखि २० गतेसम्म हरेक दिन साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म यो सडकखण्डमा यातायात बन्द गरिनेछ। सडक कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले यो अवधिमा टिपरलगायतका मालवाहक सवारीसाधनलाई भने सडकमा पूर्ण रूपमा रोक लगाइएको जानकारी दिए।

जम्मा ४ किलोमिटर लामो यस सडकखण्डमध्ये चैत महिनाभित्र २.५ किलोमिटर र आगामी वैशाखसम्ममा बाँकी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको छ। इन्जिनियर योगेशका अनुसार, सुरुमा सडकमा ‘सिटीभी’ बेस बिछ्याइने र त्यसपछि कालोपत्रको काम अघि बढ्नेछ। जाडो मौसम सकिएसँगै अहिले सडकमा सतह (सर्फेस), साना संरचना र टेवा पर्खाल निर्माणको कामले गति लिएको छ।

भारी मालवाहक सवारीसाधनको चाप बढी हुने भएकाले यस सडकलाई विशेष प्रविधि अपनाएर बलियो बनाउन लागिएको छ। कार्यालयका अनुसार नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हालेर ‘डिबीएम’ र ‘आस्फाल्ट’ गरी दुई चरणमा कालोपत्र गरिनेछ। सात मिटर चौडा हुने यो सडकका पहिरोग्रस्त क्षेत्रमा व्यवस्थापनका लागि समेत आधुनिक प्रविधि प्रयोग गरिनेछ। कालोपत्र सकिएपछि ‘स्लोप मेन्टेन’लगायतका काम हुनेछन्।

अघिल्लो निर्माण व्यवसायीको चरम लापरवाहीका कारण यो सडक विगत तीन वर्षदेखि अलपत्र पर्दा यात्रुहरूले सास्ती खेप्दै आएका थिए। तोकिएको समय सकिएको ११ महिना बित्दासमेत २५ प्रतिशत काम पनि नगरेपछि सडक कार्यालयले ‘गौरी–पार्वती निर्माण सेवा’सँगको २० करोड १९ लाखको ठेक्का रद्द गरेको थियो।

पुरानो ठेक्का रद्द गरेपछि गत कात्तिकमा नयाँ निर्माण कम्पनी ‘सीएनएवान काली जेभी’सँग १४ महिनाभित्र काम सक्नेगरी नयाँ सम्झौता गरिएको हो। भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का लिएको नयाँ कम्पनीले विभिन्न स्थानमा कटिङलगायतका काम गर्दै स्तरोन्नतिलाई तीव्रता दिइरहेको छ।

धुलिखेल–खावा सडकखण्ड चीनसँगको उत्तरी नाका तातोपानी (सिन्धुपाल्चोक)का साथै दोलखा, रामेछापलगायतका जिल्ला जोड्ने प्रमुख लाइफलाइन मानिन्छ।