कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी : सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न दबाब

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। शुक्रबारबाट सुरु भएर स्थगित भएको बैठक आइतबार बिहान पुनः सुचारु भएको हो।

जारी बैठकमा मुख्यगरी पार्टी सभापति गगन थापाले दिएको राजीनामा र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षामा केन्द्रित रहेर छलफल भइरहेको छ।

बैठकमा सबैभन्दा बढी चर्चा पार्टी सभापति थापाको राजीनामाको विषयमा भइरहेको छ। केन्द्रीय सदस्यहरूले यस विषयमा आ–आफ्नो धारणा राखिरहेका छन्। प्राप्त जानकारीअनुसार, बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा उभिएका छन्। अहिलेको परिस्थितिमा नेतृत्वले राजीनामा दिनुभन्दा पार्टीलाई सुधार गरेर अघि बढाउनुपर्नेमा उनीहरूको जोड छ।

यसैगरी, बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि पनि गम्भीर छलफल भइरहेको छ। सदस्यहरूले चुनावमा पार्टीले भोगेको परिणाम, कमजोरी र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा प्रतिवेदनमाथि टेकेर आ–आफ्नो समीक्षात्मक धारणा राखिरहेका छन्।

बैठकमा बोल्ने क्रम जारी रहेकाले आजै केही महत्त्वपूर्ण निर्णयहरू आउन सक्ने बताइएको छ।