चौथो ‘गोर्खा ट्रेल ब्लेजर’ : पुरुषतर्फ उमेश र महिलातर्फ प्रिया विजयी

काठमाडौँ, चैत १४ । सुनसरीको धरानमा आयोजित चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले उपाधि हात पार्नुभएको छ । बुधबार सम्पन्न १० किलोमिटर दूरीको प्रतिस्पर्धामा धरानका धावक उमेश थापाले निर्धारित दूरी २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो । त्यसैगरी, महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदक जित्नुभयो ।

गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईका अनुसार विजेता दुवै जनालाई जनही २० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको यो प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भएको थियो । धावकहरू मङ्गलबारे र सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङ पुगेर समापन समारोहमा सहभागी भएका थिए ।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर र धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको उत्साहजनक सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मान र उनीहरूको योगदानलाई स्मरण गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।