टिकटकबाट रास्वपाका समर्थकबाट ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं, १६ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। टिकटक मार्फत भिडिओ बनाएर धम्की दिने र गालीगलौज गर्ने सुनिता खड्का नामक महिलाविरुद्ध साम्पाङले सोमबार उजुरी दर्ता गराएका हुन्।

साम्पाङले दिएको उजुरीमा आरोपित खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक भएको दाबी गरिएको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दै अमानवीय र पाशविक शैलीमा गालीगलौज गरिएको भन्दै उनले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।

प्रहरीको साइबर ब्युरोमा पेस गरिएको उजुरीपत्रमा साम्पाङले उल्लेख गरेका छन्, ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउनेसम्मको धम्की आमसञ्चारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँछु। उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु।’ प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।