काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सञ्चालन हुने – कार्यवाहक प्रमुख डंगोल

काठमाडौं, १९ चैत्र । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। रातिको समयमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै महानगरले विद्युतीय (इलेक्ट्रिक) बसमार्फत यो सेवा सुरु गर्न लागेको हो।

सुरुवाती चरणमा रात्रिकालीन सेवाका लागि काठमाडौं उपत्यकाभित्र दुईवटा मुख्य रुट (उत्तर–दक्षिण र पूर्व–पश्चिम) तय गरिएका छन्। यी दुवै रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिनेछ।

पहिलो, उत्तर–दक्षिणतर्फको १६ किलोमिटर लामो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ।

त्यसैगरी, दोस्रो, पूर्व–पश्चिम दिशाको २० किलोमिटर लामो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।

महानगरका अनुसार, यी बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन्। तोकिएका रुटको बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आइपुग्ने व्यवस्था मिलाइएको छ। यात्रुको पूर्ण सुरक्षाको प्रत्याभूति गराउन बसभित्र सिसिटिभी (CCTV) क्यामेरा जडान गरिनुका साथै सुरक्षार्थ नगर प्रहरीसमेत खटाइने महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बेलुका ८ बजेपछि सार्वजनिक यातायात नपाउँदा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्।

“सार्वजनिक यातायातको सहज विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि रातिको समयमा किशोरी र महिलाहरूले दुर्व्यवहारको जोखिम मोल्नुपरेको तथा विद्यार्थीहरूलाई आर्थिक रूपमा मर्का परेको अवस्था छ,” कार्यवाहक प्रमुख डंगोलले भनिन्, “यही विद्यमान अवस्थामा सुधार ल्याउन र नागरिकलाई सुरक्षित सेवा दिन हामीले यो कदम चालेका हौँ।”

उनले सार्वजनिक यातायात सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणालीका रूपमा विकास गर्ने महानगरको लक्ष्य रहेको बताइन्। यो लक्ष्य पूरा गर्न अन्य सरोकारवाला तथा साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका सदैव खुला रहेको समेत उनले स्पष्ट पारिन्।