सरकारले ‘डिजिटल नेपाल’ र ‘दिगो वित्त’ परियोजनाका लागि साढे १८ करोड डलर ऋण लिने

काठमाडौं, २२ चैत्र । सरकारले दुईवटा महत्त्वपूर्ण परियोजना कार्यान्वयनका लागि दातृ निकायबाट कुल १८ करोड ५० लाख अमेरिकी डलर (साढे १८ करोड डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार, सरकारले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

त्यसैगरी, ‘दिगो र समावेशी वित्त’ परियोजनाका लागि विश्व बैंकबाट थप ९ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।