अदालतमा पूर्वप्रधानमन्त्री ओलीको बयान : ‘गोली चलाउने आदेश मेरो थिएन, सेनाले असहयोग गर्यो’
काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा आफ्नो कुनै दोष नरहेको भन्दै अदालतसमक्ष बयान दिनुभएकाे छ । प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने स्पष्ट पार्दै उहाँले सङ्कटका बेला नेपाली सेनाले समेत सरकारलाई असहयोग गरेको दाबी गर्नुभएकाे छ।
अदालतसमक्ष आफ्नो बयान दर्ता गराउने क्रममा पूर्वप्रधानमन्त्री ओलीले भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू नै आश्चर्यचकित भएको बताउनुभएकाे छ । “प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने कुरै हुँदैन, त्यसैले यसमा मेरो कुनै दोष छैन,” ओलीको बयानमा भनिएको छ, “मानिसको मृत्यु किन र कसरी भयो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।”
देशमा आपत्कालीन अवस्था आउँदा शान्ति सुरक्षा कायम गर्न सेनासँग सहयोग माग्दासमेत अपेक्षित समन्वय हुन नसकेको उहाँले खुलाउनुभएकाे छ । सेनाको असहयोगकै कारण आफूले पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको ओलीले बयानमा उल्लेख गरेका छन् ।
आन्दोलनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले यसको गहिरो छानबिन हुनुपर्ने मागसमेत गर्नुभएकाे छ । शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो र द्वन्द्वको अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उहाँको भनाइ छ । राज्यको सम्पत्तिमा आगजनी गर्नेदेखि लिएर भीडलाई उत्तेजित पार्नेसम्मका गतिविधिमा सुरुदेखि अन्त्यसम्म संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने उहाँकाे माग छ । “घटनाप्रति मलाई दुःख छ, तर दोषी उम्किनु हुँदैन,” ओलीले भन्नुभएकाे छ ।
आफूले सधैँ राष्ट्र र राष्ट्रियताको हितमा काम गरेको जिकिर गर्दै ओलीले अदालतसमक्ष भन्नुभएकाे छ, “मैले देशको पक्षमा बोलेँ र काम गरेँ, तर त्यही कारण विभिन्न स्वार्थ समूहहरूले ममाथि अनावश्यक आरोप लगाइरहेका छन् ।”