मन्त्रीहरूको सम्पत्ति विवरणमा सांसद साम्पाङको प्रश्न : ‘स्रोतविनाको सम्पत्ति भ्रष्टाचार हो, प्रस्ट्याइयोस्’
काठमाडौं, ३० चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।
सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद साम्पाङले स्रोत नखुलेको सम्पत्तिलाई ‘भ्रष्टाचार’ को सङ्ज्ञा दिएका हुन् ।
“सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, तर अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,” साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “स्रोतविनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । त्यसैले स्रोत प्रस्ट्याइदिनुपर्छ ।”
सम्पत्ति विवरण सार्वजनिक गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले उक्त सम्पत्ति कसरी आर्जन गरियो भन्ने कुरा पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । हालै सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि त्यसमाथि विभिन्न राजनीतिक वृत्त र जनस्तरबाट टिप्पणी भइरहेको सन्दर्भमा साम्पाङको यस्तो भनाइ आएको हो ।