सिर्जना बुढामगर मृत्यु प्रकरण: फरार बाबु–छोरा भारतबाट पक्राउ, थुनामा पर्नेको सङ्ख्या ५ पुग्यो
नेपालगन्ज, १ वैशाख । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनामा संलग्न रहेको आरोपमा फरार थप दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सीमापारिबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज–१२ निवासी ५० वर्षीय रहमद ढपाली र उनका २१ वर्षीय छोरा मोहम्मद आदिल ढपाली रहेका छन् । उनीहरू दुवै जना मृतक सिर्जनाका प्रेमी भनिएका मोहम्मद आरिफ ढपालीका बुबा र भाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार घटनापछि फरार रहेका उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो । यसअघि पीडित पक्षको किटानी जाहेरीका आधारमा मुख्य अभियुक्त मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । पछिल्लो गिरफ्तारीसँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ ।
गत चैत २३ गते कोरियनपुरस्थित आफ्नै घरमा सिर्जना शरीरभरि आगो लागेको बीभत्स अवस्थामा फेला परेकी थिइन् । उपचारका क्रममा उनको ज्यान गएको थियो । सिर्जना र मोहम्मद आरिफ लामो समयदेखि ‘लिभिङ टुगेदर’मा रहेको र परिवारको मिलोमतोमा सिर्जनाको हत्या गरिएको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको छ । पक्राउ परेका सबैमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।