कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका प्रतिवादी पक्राउ
काठमाडौँ, बैशाख १ । जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको विसं २०६४ जेठ २० गतेको फैसलाले रानालाई जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी १८ वर्षदेखि फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका रानालाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेस गरी कारागार चलान गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।