इरान–अमेरिका तनाव चरम उत्कर्षमा : होर्मुज जलमार्ग बन्द, वार्ता अनिश्चित, बङ्गलादेशमा इन्धन सङ्कट
एजेन्सी, ६ बैशाख । इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण रूपमा अविश्वास व्यक्त गर्दै होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) बाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट आवतजावत गर्न नदिने चेतावनी दिएको छ ।
शनिबार इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्नुका साथै एउटा भारतीय व्यावसायिक जहाजमाथि समेत गोली चलाएको थियो । इरानको यस कदमले विश्वव्यापी आपूर्ति शृङ्खलामा ठूलो सङ्कट निम्त्याउने सङ्केत गरेको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले लगाएको नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला परिस्थिति बिग्रन सक्ने र त्यसका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । उहाँले होर्मुज जलमार्गमा बिछ्याइएका बारुदी सुरुङ (माइन) हटाउने प्रयास गरिए त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने र इरानले कडा जवाफ दिने चेतावनी दिनुभयो ।
गालिबाफले अमेरिका हतियारमा बलियो भए पनि रणनीतिक रूपमा इरानसामु कमजोर रहेको दाबी गर्दै अमेरिकाले जहिले पनि इजरायलको हितमा मात्र निर्णय लिने गरेको आरोप लगाउनुभयो ।
यसैबीच, अमेरिकी गुप्तचर निकाय र न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यति लामो र ठूलो युद्धका बाबजुद इरानको सैन्य भण्डार अझै पनि सुरक्षित छ । इरानसँग युद्धअघिको तुलनामा अझै ७० प्रतिशत ब्यालेस्टिक मिसाइल, ६० प्रतिशत मिसाइल लन्चर र ४० प्रतिशत ड्रोन भण्डार सुरक्षित रहेको अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।
अर्कोतर्फ, इरानले अस्पतालहरूमा अमेरिकी र इजरायली आक्रमणबाट भएको क्षतिको नयाँ भिडियो सार्वजनिक गर्दै त्यसको कडा विरोध जनाएको छ ।
इरानले होर्मुज जलमार्ग बन्द गर्दा यसको प्रत्यक्ष र गम्भीर मार बङ्गलादेशजस्ता विकासशील देशमा परेको छ । आफ्नो ९५ प्रतिशत इन्धन आयातमा निर्भर बङ्गलादेशमा गहिरो इन्धन सङ्कट देखिएको छ । इन्धन अभावमा पेट्रोल पम्पहरूमा घण्टौँ लामा लाइन लागेका छन् भने ऊर्जा बचाउन त्यहाँको सरकारले विश्वविद्यालयहरू बन्द गर्नुका साथै कार्यालय समयसमेत कटौती गरेको छ ।
विश्वव्यापी आपूर्ति सङ्कट टार्न र मूल्यवृद्धि रोक्न अमेरिकाले भने आफ्नो आपत्कालीन भण्डार (इमर्जेन्सी रिजर्भ) बाट २ करोड ६० लाख ब्यारेल तेल निकालेर कम्पनीहरूलाई उपलब्ध गराएको छ ।
पाकिस्तानमा सोमबार शान्ति वार्ताको अर्को चरण हुन सक्ने चर्चा चले पनि इरानले तत्काल प्रत्यक्ष वार्ताको सम्भावनालाई नकारेको छ ।
इरानका उप–विदेशमन्त्री सईद खतीबजादेहले नियम र रूपरेखा (फ्रेमवर्क) तय नभएसम्म तथा अमेरिकाले आफ्ना सर्तहरू नत्यागेसम्म वार्ता अघि नबढ्ने प्रस्ट पार्नुभएको छ । उहाँले राष्ट्रपति ट्रम्पको दाबीविपरीत इरानले आफ्नो प्रशोधित युरेनियम अमेरिकालाई कुनै पनि हालतमा नसुम्पिने अडान व्यक्त गर्नुभयो ।