काठमाडौँमा आर्थिक अपराधको ग्राफ उच्च: एक महिनामै ५६४ मुद्दा दर्ता, १७ करोडको क्रिप्टो कारोबार गर्ने चिनियाँ पक्राउ

काठमाडौँ, ३ बैशाख । जिल्ला प्रहरी परिसर काठमाडौँले पछिल्लो एक महिनाको अवधिमा आर्थिक अपराध नियन्त्रणमा उल्लेख्य सक्रियता देखाएको छ । चैत महिनामा मात्रै परिसरले कुल १ हजार १६६ वटा विभिन्न मुद्दा दर्ता गरेकोमा झन्डै आधा हिस्सा आर्थिक अपराधसँग सम्बन्धित रहेको पाइएको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दर्ता भएका मुद्दाहरूमध्ये आर्थिक अपराधका ५६४, जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६ र अन्य विधाका ३४२ मुद्दा रहेका छन् ।

प्रहरीले सम्पत्ति शुद्धीकरण र हुण्डी कारोबारविरुद्ध कडा कदम चालेको छ । प्रवक्ता भट्टराईका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँ बिगो दाबीसहित कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यसैगरी, हुण्डी कारोबार नियन्त्रणका क्रममा तीनवटा मुद्दामा सात जनालाई पक्राउ गरिएको छ, जसमा १ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो) को अवैध कारोबारमा संलग्न दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिक पक्राउ र साइबर ठगीको चुनौती
प्रहरीले ठमेल क्षेत्रबाट अवैध अभौतिक मुद्राको कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई समेत पक्राउ गरेको छ । उनीमाथि १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको कारोबार गरेको अभियोग छ ।
यस्तै, डिजिटल माध्यमबाट हुने ठगी पनि प्रहरीका लागि चुनौती बनेको छ । एक महिनामा साइबर अपराध तथा ठगीतर्फ २६१ वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये १०० वटा मुद्दा अनलाइन सपिङका नाममा भएका ठगीसँग सम्बन्धित रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

अपराध नियन्त्रणका अतिरिक्त प्रहरीले सामाजिक सेवातर्फ पनि सक्रियता देखाएको छ । चैत महिनामा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी प्रहरीले उनीहरूका परिवारको जिम्मा लगाएको छ । काठमाडौँ उपत्यकाको सुरक्षा र आर्थिक पारदर्शिता कायम गर्न प्रहरीले आफ्नो अपरेसनलाई अझ सशक्त बनाउँदै लैजाने प्रवक्ता भट्टराईले बताउनुभयो ।