भक्तपुरमा पूर्वप्राथमिक शिक्षकलाई ‘फोनिग्स’ र कक्षाकोठा व्यवस्थापन तालिम

भक्तपुर, १३ वैशाख । ‘वि क्यान एजुकेसनल नेपाल’को आयोजनामा भक्तपुरमा पूर्वप्राथमिक (प्रि–प्राइमरी) तहमा अध्यापन गराउने शिक्षकहरूका लागि एकदिने तालिम सम्पन्न भएको छ।

शनिबार आयोजित तालिममा बालबालिकालाई अक्षर र ध्वनिको संयोजन सिकाउने विधि र कक्षाकोठा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइएको थियो। जागृति विद्याकुञ्जका प्रधानाध्यापक जगदीश पौडेलले प्रशिक्षकलाई माइक्रोफोन हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

तालिममा पाथीभरा एकेडेमी, सभ्यता शिक्षालय, आरक्षण नेसनल एकेडेमी, ऋतम्भरा पाठशाला कलेज, जागृति विद्याकुञ्ज, शिक्षा इङ्लिस स्कुल, प्रसादी पाठशाला र पारिजात स्कुलका पूर्वप्राथमिक तहका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमकी प्रशिक्षक अनुराधा श्रेष्ठले ‘ब्लेन्डिङ फोनिग्स’को प्रयोगबाट बालबालिकामा ध्वनि र अक्षर मिलाएर शब्द निर्माण गर्ने सीप कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक अभ्यास गराएकी थिइन्। साथै, उनले बालमैत्री र अनुशासित सिकाइ वातावरण निर्माणका लागि प्रभावकारी कक्षाकोठा व्यवस्थापनका रणनीतिहरूबारे प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा ‘वि क्यान एजुकेसनल नेपाल’का अध्यक्ष रमेशप्रसाद सिटौलाले प्रारम्भिक उमेरका बालबालिकालाई सही र शुद्ध उच्चारण सिकाउनु अत्यन्त आवश्यक रहेको बताए। “भर्खर बोल्न सिक्दै गरेका नानीबाबुहरूलाई सुरुदेखि नै सही शब्द उच्चारण गराउने हो भने उनीहरूको भाषा विकास सुदृढ हुन्छ,” उनले भने। शिक्षकहरूको निरन्तर मिहिनेत, धैर्यता र बालमैत्री विधिले मात्र यो शिक्षण पद्धति सफल हुने उनको भनाइ थियो।

कमलबहादुर सुवाल, अनिश खत्री र तुलसी भेटवाल अतिथि रहेकाे कार्यक्रमको समन्वय शर्मिला प्रधानाङ्ग र सञ्चालन लक्ष्मी प्रधानाङ्गले गरेका थिए। उत्साहजनक सहभागिता रहेको तालिमको अन्त्यमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।