‘प्रधानमन्त्री कार्यालयमा कालो चस्मा लगाएका नयाँ गिरोह सक्रिय छन्’: नेपाली कांग्रेस

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितको टोलीलाई प्रधानमन्त्री कार्यालयमा नौ घण्टासम्म राखी परराष्ट्र मन्त्रालयका सहसचिवविरुद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भनिएको घटनाप्रति प्रतिनिधि सभामा गम्भीर आपत्ति जनाएको छ।

शुक्रबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले राज्यका संयन्त्रहरू नियन्त्रणमा लिन प्रधानमन्त्री कार्यालयमा ‘नयाँ गिरोह’ सक्रिय भएको आरोप लगाउनुभयो।

बैठकमा बोल्दै सांसद बुढाले विगतको पञ्चायतकालमा भूमिगत गिरोह सञ्चालन भएजस्तै अहिले प्रधानमन्त्री कार्यालयमा संविधान र कानुन नचिन्नेहरूको समूह हाबी भएको टिप्पणी गर्नुभयो।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै सामान्य सतर्कता केन्द्र होइन, यो त सरकारका कामकारबाहीमाथि निगरानी राख्ने र राज्य शक्तिको सन्तुलन (चेक एण्ड ब्यालेन्स) गर्ने संवैधानिक अङ्ग हो,” उहाँले भन्नुभयो, “अख्तियार कसैको खल्तीको संस्था होइन। आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि स्वयं प्रधानमन्त्रीले बदमासी गर्दा त्यसको छानबिन कसले गर्ने हो?”

सांसद बुढाले सरकारमा हाल मन्त्रीहरूले स्वतन्त्र रूपमा निर्णय गरिरहेका छन् कि पर्दा पछाडि बसेका कोही अरूले नै हुकुम चलाइरहेका छन् भनी प्रश्न उठाउनुभयो।

“प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने को हुन्? तिनीहरू केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्,” उहाँले भन्नुभयो, “मन्त्रीहरू देखाउने अनुहार मात्र हुन् र वास्तविक निर्णय पर्दा पछाडिबाट अरू कसैले गरिरहेको छ भन्ने गम्भीर आशंका सिर्जना भएको छ।”