चितवनमा ७० हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप : जैविक सुरक्षा अपनाउन आग्रह

काठमाडौँ, असार ५ । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म करिब ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । घरपालुवा पशुमा देखिने संक्रामक खोरेत रोगको नियन्त्रण तथा रोकथामका लागि जिल्लाका विभिन्न क्षेत्रमा यो अभियान सञ्चालन गरिएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जिल्लाभर रहेका करिब एक लाख गाईभैँसीमध्ये अधिकांशलाई खोपको दायरामा ल्याइएको छ। कार्यालयले स्थानीय तहका पशु सेवा शाखाहरूमार्फत खोप कार्यक्रम सञ्चालन गर्नुका साथै कतिपय व्यावसायिक किसानले आफ्नै अग्रसरतामा पनि खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

रोगका लक्षण र प्रभाव
भाइरसका कारण फैलिने खोरेत रोग लागेका पशुमा १०४ डिग्रीसम्म ज्वरो आउने, जिब्रो र मुखमा छाला जाने, खुरमा घाउ हुने, दानापानी नखाने र दूध उत्पादनमा उल्लेख्य ह्रास आउने जस्ता लक्षण देखिन्छन्। साथै, गर्भवती पशुमा गर्भ तुहिने समस्या समेत हुने भएकाले यसले किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याउने डा. न्यौपानेले बताउनुभयो । विशेषगरी गाईभैँसी र बङ्गुरमा यो रोग बढी देखिने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ  ।

सतर्कता र क्वारेन्टाइनको आवश्यकता
जिल्लाभित्रका पशुलाई खोप लगाएर सुरक्षित बनाइए पनि बाहिरबाट खरिद गरेर ल्याइने पशुका कारण संक्रमण फैलिने जोखिम रहेको पाइएको छ। “नयाँ खरिद गरिएका पशुलाई सिधै बथानमा नमिसान र कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र अन्य पशुसँग राख्न आवश्यक छ,” डा. न्यौपानेले भन्नुभयो ।

जङ्गली जनावरको सम्पर्कबाट पनि यो रोग सर्न सक्ने भएकाले वन क्षेत्रमा चरिचरनका लागि लैजाने पशुहरूमा संक्रमणको जोखिम बढी हुने गर्दछ। पशु सेवा कार्यालयले प्रत्येक फार्ममा जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्न र वर्षमा दुई पटक अनिवार्य रूपमा खोरेतविरुद्धको खोप लगाउन पशुपालक किसानहरूलाई अपिल गरेको छ। सङ्क्रमण देखिएको अवस्थामा बिरामी पशुलाई बथानबाट छुट्टै राखेर उपचार प्रक्रिया अघि बढाउन समेत कार्यालयले आग्रह गरेको छ ।