बागलुङको ३०० वर्ष पुरानो ऐतिहासिक ‘हनुमान नाच’ समापन, २१ महिनामा १९ पटक देखाइयो

बागलुङ, १७ वैशाख । बागलुङको नेवारी समुदायमा प्रचलित तीन सय वर्ष पुरानो ऐतिहासिक एवं मौलिक ‘हनुमान नाच’ २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ। नौ वर्षको लामो अन्तरालपछि २०८१ साल भदौ ११ गतेदेखि सुरु भएको यो नाच मङ्गलबार बागलुङ बजारको हनुमान पौवामा पुगेर टुङ्गिएको हो।

हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठका अनुसार यस अवधिमा यो नाच कुल १९ पटक प्रदर्शन गरियो। बागलुङ बजारका विभिन्न टोलहरू, बसपार्क उद्घाटन, बागलुङ महोत्सव, कालिका मन्दिर र गलकोटसम्म पुगेर यो नाच देखाइएको थियो। यसपटकको प्रदर्शनमा कुल ४२ जना युवाहरूले कलाकारको रूपमा सहभागिता जनाएका थिए।

यो नाचमा १३ जोडी युवाहरू हनुमानको भेषमा सजिन्छन्। गालामा रङ पोतिएको, शिरमा ‘श्रीराम’ लेखिएको रातो पट्टी, शरीरमा रातो र सेतो पहिरन र पछाडि झुण्ड्याइएको पुच्छरले उनीहरू दुरुस्तै हनुमान जस्तै देखिन्छन्।

यो नाचको मुख्य आकर्षण भनेको ‘वीर चढ्ने’ (देवता चढ्ने) दृश्य हो। नाच्दा–नाच्दै कतिपय हनुमानहरू अचेत जस्तै भई हल्लिन थाल्छन्, जसलाई स्थानीय भाषामा ‘वीर चढेको’ भनिन्छ। पुजारीले गर्ने विशेष पूजाविधिका कारण कलाकारहरूमा यस्तो ऊर्जा देखिने विश्वास गरिन्छ। यो नाच रामायणको कथामा आधारित छ र विभिन्न १० वटा तालमा नाचिन्छ।

मल्ल राजाको पालामा भक्तपुरबाट सुरु भएको यो नाच वि.सं. १७६८ मा व्यापारका सिलसिलामा बागलुङ आएका नेवार समुदायले सँगै ल्याएका थिए। बीचमा केही समय हराएको यो नाचलाई २०१३ सालदेखि पुनः निरन्तरता दिन थालिएको हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिनुभयो।

पहिले–पहिले प्रत्येक तीन वर्षमा देखाइने यो नाच अचेल व्यवस्थापनमा कठिनाइ र खर्चिलो हुने भएकाले लामो समयको अन्तरालमा हुन थालेको छ। तीन वर्षबाट बढेर पाँच, सात हुँदै यसपालि नौ वर्षको ग्यापमा मात्र यो नाच सम्भव भएको हो। समापनसँगै हनुमानको मूर्तिलाई बजार परिक्रमा गराई पुनः हनुमान पौवामा प्रतिस्थापन गरिएको छ।

समापन समारोहमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले हनुमान नाच बागलुङको विशिष्ट पहिचान भएको र यसको संरक्षणमा नगरले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सहभागी कलाकार, वाद्यवादक र कजीहरूलाई सम्मान समेत गरिएको थियो। परिषद्ले अबको तीन वर्षपछि पुनः यो नाच देखाउने योजना बनाएको छ।