झापामा कलेज बस पल्टिँदा चार विद्यार्थी घाइते, चालक प्रहरी नियन्त्रणमा
झापा, २३ वैशाख । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिकैको भित्री सडकमा आज (आइतबार) कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ स्थित ‘इको होम कलेज’ को प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडकछेउमा पल्टिएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, दुर्घटनाको समयमा बसमा चालकसहित पाँच जना सवार थिए।
दुर्घटनामा परी बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिल्वालसहित कलेजका विद्यार्थीहरू शिवसताक्षी नगरपालिका–८ का १८ वर्षीय इसान पक्वाल, १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल घाइते भएका छन्।
घाइते चारै जनाको उद्धार गरी बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
घटनालगत्तै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस अनियन्त्रित हुनुको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।