धनुषामा स्कारपियोको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
काठमाडौँ, वैशाख २५ । धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ढल्केबर–जनकपुर सडकखण्डमा शनिबार भएको उक्त दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साहको ज्यान गएको हो ।
प्रहरीका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षण कालमा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएकी साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइए पनि अस्पताल पुग्नुअघि नै उहाँको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो ।
प्रहरीले ठक्कर दिने स्कारपियो र त्यसका चालक विराटनगर महानगरपालिका-७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै थप अनुसन्धान भइरहेको जनाएको छ ।