मधेस प्रदेशमै पहिलो पटक जनकपुरमा ‘न्यायिक महोत्सव’ हुँदै

काठमाडौँ, बैशाख २६ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ मधेस प्रदेशमै पहिलो पटक आज जनकपुरधाममा ‘न्यायिक महोत्सव’ आयोजना गरिँदै छ । उच्च अदालत जनकपुरको आयोजनामा हुन लागेको यस महोत्सवले न्यायपालिका र नागरिकबीचको दूरी घटाउने लक्ष्य राखेको छ ।

उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार महोत्सवमा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह र पुराना मुद्दा फछ्र्योटको वर्तमान अवस्थाबारे जानकारी दिइनेछ । “न्यायपालिकाप्रति नागरिकको अटुट विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन अनिवार्य छ,” उहाँले भन्नुभयो, “अदालतले अहिले पुराना मुद्दा फछ्र्योटलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

महोत्सव (न्यायिक मेला) मार्फत सर्वसाधारणलाई न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधानका उपाय, कानुनी सहायता र नागरिक अधिकारका विषयमा सहज रूपमा जानकारी उपलब्ध गराइनेछ । न्यायमा नागरिकको पहुँच विस्तार गर्न र न्यायिक प्रक्रियालाई सरलीकृत गर्न यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास अदालतले लिएको छ ।

यसका साथै, न्याय सम्पादनमा सञ्चारमाध्यमको भूमिकालाई जोड दिँदै कामु मुख्य न्यायाधीश कुँवरले नागरिकलाई सचेत गराउन मिडियाको सहयोग आवश्यक रहेको बताउनुभयो । मधेस प्रदेशमा पहिलो पटक हुन लागेको यो महोत्सवले न्यायिक सुशासन र विधिको शासन प्रवद्र्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।