बाढीका कारण सिद्विचरण राजमार्ग ठप्प : विपी राजमार्गमा रात्रिकालीन यात्रामा रोक
काठमाडौँ, वैशाख २७ । वैशाख २६ गतेको बेमौसमी वर्षापछि आएको बाढीका कारण उदयपुरको कटारी नगरपालिका-१४, दलदलेस्थित सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीले सडकमा क्षति पुर्याएपछि शनिबारदेखि उक्त राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि सो क्षेत्र भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।
यसैबीच, सम्भावित बाढी र प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गको यातायात सञ्चालनमा पनि विशेष सतर्कता अपनाइएको छ। काभ्रेपलान्चोकस्थित सिन्धुली-खुर्कोट-नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा आइपर्न सक्ने जोखिमलाई ध्यानमा राखी रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको हो।
प्रहरीका अनुसार यही वैशाख २१ गतेदेखि अर्को आदेश नभएसम्मका लागि दैनिक बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ। बाढी र सडक अवरोधका कारण यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यान दिँदै प्रहरीले सतर्क रहन र वैकल्पिक मार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।