३३ औँ मदन–आश्रित स्मृति दिवस: जननेता भण्डारी र नेता आश्रितको सम्झनामा देशभर विविध कार्यक्रम
काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननेता भण्डारी र नेता आश्रितको योगदानको स्मरण गर्दै एमालेले केन्द्रदेखि स्थानीय तहसम्म स्मृति सभा तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ ।
दिवसको अवसरमा आज बिहान काठमाडौँको मदननगर बल्खुमा विशेष स्मृति कार्यक्रम आयोजना गरिएको छ । यस्तै, गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा ‘मदन भण्डारीका विचार र वर्तमान राजनीति’ विषयक विचारगोष्ठी सञ्चालन हुने एमालेले जनाएको छ ।
देशका विभिन्न भागमा मदन–आश्रितको योगदानको चर्चा गर्दै विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र अस्पतालका बिरामीहरूलाई फलफूल वितरण जस्ता कार्यक्रमहरू भइरहेका छन् ।
वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको निधन भएको थियो । नेपाली राजनीतिमा मौलिक विचारका धनी मानिने भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) अहिले पनि नेकपा (एमाले) को मुख्य मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्न र संसदीय परिपाटीमा स्थापित गराउन भण्डारीको अतुलनीय योगदान रहेको छ । हरेक वर्षको जेठ ३ गतेलाई एमालेले शोक र सङ्कल्पको दिनका रूपमा मनाउँदै आएको छ ।