अमेरिका–इरान वार्ता विफल: युद्धको तयारी र आर्थिक संकटको चेतावनीले विश्व बजार तरंगित
तेहरान/वासिङ्टन, ३ जेठ । इरान र अमेरिकाबीचको कूटनीतिक संवादमा गतिरोध उत्पन्न भएसँगै दुई देशबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। इरानले अमेरिकालाई सम्भावित सैन्य मुठभेडका लागि तयार रहन चेतावनी दिँदै युद्धले अमेरिकी अर्थतन्त्रमा अपूरणीय क्षति पुग्ने दाबी गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले यदि वार्ताले कुनै ठोस र स्वीकार्य नतिजा निकाल्न नसकेमा इरान अमेरिकासँग प्रत्यक्ष सैन्य संघर्षमा उत्रिन तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत वासिङ्टनलाई चेतावनी दिँदै भनेका छन्, “अमेरिकी नागरिकहरूले इरानसँगको अनावश्यक युद्धको आर्थिक भार भोग्नुपर्नेछ।”
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण विश्वको कुल तेल र ग्यास आपूर्तिको पाँचौँ हिस्सा ओगट्ने ‘स्ट्रेट अफ हर्मुज’ लगभग बन्द अवस्थामा छ। यसले गर्दा अमेरिकामा इन्धनको मूल्य र मुद्रास्फीति आकाशिएको छ।
इरानी अधिकारीहरूले हर्मुज जलसन्धिमा आफ्नो पूर्ण सार्वभौमसत्ता हुनुपर्ने अडान राखेका छन्। इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीका अनुसार इरानले यस जलक्षेत्रमा यातायात व्यवस्थापनका लागि नयाँ संयन्त्र तयार गरेको छ, जसअन्तर्गत इरानलाई सहयोग गर्ने व्यापारिक जहाजहरूले मात्र शुल्क तिरेर आउजाउ गर्न पाउनेछन्। अमेरिका समर्थित ‘प्रोजेक्ट फ्रिडम’ मा सहभागी जहाजहरूलाई भने प्रवेश निषेध गरिने उनले बताएका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकी सैन्य खर्च र बढ्दो ऋणको आलोचना गर्दै अमेरिका अर्को ठुलो आर्थिक मन्दी तर्फ धकेलिएको टिप्पणी गरेका छन्। बुधबार मात्रै अमेरिकाले २५ अर्ब डलर बराबरको ३० वर्षे ऋणपत्र ५ प्रतिशत ब्याजदरमा लिलामी गरेको छ, जुन विगत दुई दशक यताकै उच्च हो। हर्मुज जलसन्धिको अवरोधका कारण ऊर्जा मूल्य बढ्दा अमेरिकामा ब्याजदर थप बढ्न सक्ने र यसले घरजग्गा तथा गाडी कर्जामा गम्भीर असर पुग्ने विश्लेषण गरिएको छ।
बाह्य रूपमा युद्धको चेतावनी दिए पनि इरानको आन्तरिक आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको छ। आधिकारिक तथ्याङ्क अनुसार इरानमा खाद्यान्न मुद्रास्फीति ११५ प्रतिशत पुगेको छ। तेल, चामल र कुखुराको मासु जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य एक वर्षमा तीन गुणाले बढेको छ।
इरानी मुद्रा ‘रियाल’ को मूल्य अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून विन्दु (१ डलर बराबर १८ लाख रियाल) को आसपास पुगेको छ।
इरानी सरकारी टेलिभिजनहरूले राष्ट्रवादी भावना भड्काउन र नागरिकहरूलाई युद्धका लागि तयार रहन आह्वान गरिरहेका छन्। कतिपय टेलिभिजन प्रस्तोताहरूले हातमा अत्याधुनिक राइफल लिएरै समाचार वाचन गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्। ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’का कमाण्डरहरूले सर्वसाधारणलाई हतियार चलाउने तालिम दिइरहेका छन्।
अर्कोतर्फ, इरानभित्र सरकार विरोधी स्वरहरूलाई कडाइका साथ दमन गरिएको छ। गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनमा हजारौँ मानिस मारिएको रिपोर्ट आएको छ। इरानले विगत ७८ दिनदेखि देशभर इन्टरनेट सेवामा पूर्ण प्रतिबन्ध लगाएको छ भने सरकार विरोधी आरोपितहरूलाई दैनिक रूपमा मृत्युदण्ड दिने क्रम जारी राखेको छ।
यसैबीच, इरानले चीनको मध्यस्थतालाई स्वागत गर्ने संकेत गरेको छ। चीन र अमेरिकाबीचको पछिल्लो संवादलाई इरानले नजिकबाट नियालिरहेको विदेशमन्त्री अराघचीले बताएका छन्। यद्यपि, तत्कालका लागि खाडी क्षेत्रमा युद्धको बादल झन् मडारिएको देखिन्छ।