ऐतिहासिक ‘तिजी’ पर्वले उपल्लो मुस्ताङमा रौनकः लोमान्थाङका होटल विदेशी पर्यटकले भरिभराउ
मुस्ताङ, ३१ बैशाख । उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक ‘तिजी’ पर्व सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। पर्व अवलोकनका लागि आएका विदेशी तथा स्वदेशी पर्यटकका कारण लोमान्थाङ गाउँपालिका–५ स्थित बजार क्षेत्रका होटलहरू पूर्ण रूपमा भरिभराउ भएका छन्।
बुधबारदेखि सुरु भएको यस विशेष पर्वलाई नजिकबाट नियाल्न ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू मुस्ताङ पुगेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार, तिजी पर्वकै लागि भनेर बुधबार मात्रै ३०७ जना विदेशी पर्यटक त्यहाँ भित्रिएका थिए। पर्यटकको आगमन ह्वात्तै बढेसँगै लोमान्थाङ बजारका करिब तीन दर्जनभन्दा बढी होटलहरू पर्यटकले भरिएका छन्।
तिब्बती संस्कृति र परम्परा झल्किने करिब ६ सय वर्ष पुरानो यस पर्वलाई ३५० भन्दा बढी विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरिरहेको एक्यापका प्रमुख उमेश पौडेलले जानकारी दिए। उनका अनुसार, विदेशी मात्र नभई स्वदेशी (आन्तरिक) पर्यटकको उपस्थिति पनि यस वर्ष लोमान्थाङमा बाक्लो देखिएको छ।
के हो तिजी पर्व?
तिजी उपल्लो मुस्ताङवासीको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सव हो। यो पर्वका अवसरमा गाउँ र विश्वभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै बुधबारदेखि नै बौद्ध भिक्षुहरू (लामा) ले विशेष पाठपूजा गरिरहेका छन्।
यस पर्वमा मुस्ताङको मौलिक पहिचान बोकेका परम्परागत भेषभूषामा सजिएर स्थानीय बासिन्दा तथा भिक्षुहरूले तान्त्रिक विधिअनुसारको विशेष धार्मिक नृत्यसमेत प्रस्तुत गर्ने परम्परा रहिआएको छ। हिमाली सौन्दर्य र सदियौँ पुरानो संस्कृतिको सङ्गम हेर्न बर्सेनि सयौँ पर्यटक यस समयमा मुस्ताङ पुग्ने गर्छन्।