विश्व दूरसञ्चार तथा सूचना समाज दिवस: डिजिटल विभाजन अन्त्य र प्रविधिमा सबैको पहुँचमा जोड
काठमाडौँ, ३ जेठ । ‘डिजिटल’ पहुँच विस्तार र सूचना प्रविधिको प्रयोगमार्फत आर्थिक–सामाजिक रूपान्तरण गर्ने लक्ष्यका साथ आज नेपालसहित विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ मनाइँदैछ ।
इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को महत्वबारे जनचेतना जगाउने र प्रविधिमा पहुँच भएका र नभएकाहरूबीचको खाडल अर्थात् ‘डिजिटल विभाजन’ कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
विशेषगरी सहर र सुगम क्षेत्रका नागरिकले प्रविधिको सहज लाभ लिइरहँदा दुर्गमका बासिन्दा इन्टरनेट, स्मार्टफोन र डिजिटल शिक्षाबाट वञ्चित हुने अवस्थालाई ‘डिजिटल विभाजन’ मानिन्छ । यस्तो असमानता हटाउँदै सबै नागरिकलाई डिजिटल मूलधारमा जोड्नु नै यो दिवसको मुख्य सन्देश हो ।
विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन सुरु गरिएको हो । सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना भएको र पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस तय गरिएको हो ।
पछि सन् २००५ मा सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) को आग्रहमा संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २००६ देखि मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ समेत घोषणा गरेको थियो । अहिले यी दुवैलाई एकीकृत गरी ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का रूपमा मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घ र आइटियुका अनुसार प्रविधिको पहुँचले मात्र समाज र अर्थतन्त्रमा गुणात्मक परिवर्तन सम्भव छ । नेपालमा पनि ‘डिजिटल नेपाल फ्रेमवर्क’ मार्फत सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र दुर्गमका गाउँ–गाउँसम्म ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।
दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र विभिन्न दूरसञ्चार प्रदायक संस्थाहरूले विशेष छलफल तथा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेका छन् । सबैका लागि सस्तो र भरपर्दो इन्टरनेट सेवा पुर्याउनु नै आजको प्रमुख चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् ।