काठमाडौं, १३ जेष्ठ। आईपीएल २०२६ को एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच रोमाञ्चक भिडन्त हुँदैछ। प्रतियोगितामा टिकिरहन दुवै टोलीलाई जित अनिवार्य भएकाले खेललाई ‘गर या मर’ को रूपमा हेरिएको छ। पराजित टोलीको यात्रा आजै समाप्त हुनेछ भने विजेता टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा हुने खेलमा विशेषगरी दुवै टोलीका ओपनर ब्याट्सम्यान निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। हैदराबादका ट्राभिस हेड र अभिषेक शर्मा तथा राजस्थानका वैभव सूर्यवंशी र यशस्वी जैसवाल उत्कृष्ट लयमा रहेकाले सुरुआती ओभरमै खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन्।
यस सिजन हेड–अभिषेक जोडीले ६९० रन बनाएको छ। ट्राभिस हेडको स्ट्राइक रेट १६८.६६ रहेको छ भने अभिषेक शर्माले २०६.२२ को स्ट्राइक रेटमा रन बनाइरहेका छन्। यता राजस्थानका वैभव सूर्यवंशी र जैसवालले ६२२ रन जोडेका छन्। वैभवको स्ट्राइक रेट २३२.२७ रहेको छ, जुन यस सिजनकै सबैभन्दा आक्रामक प्रदर्शनमध्ये एक हो।
राजस्थानका लागि युवा ब्याट्सम्यान वैभव सूर्यवंशी मुख्य आकर्षणका रूपमा रहेका छन्। उनले यसै सिजन हैदराबादविरुद्ध ३७ बलमा विस्फोटक शतक प्रहार गरेका थिए। १४ खेलमा ५८३ रन बनाइसकेका वैभवले तीन अर्धशतक समेत प्रहार गरेका छन्। उनले हालसम्म ५३ छक्का प्रहार गरिसकेका छन् र क्रिस गेलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान नजिक पुगेका छन्।
हैदराबादका अभिषेक शर्मा पनि उत्कृष्ट फर्ममा छन्। उनले १४ इनिङ्समा ५६३ रन बनाएका छन्। यसअघि राजस्थानविरुद्ध एक खेलमा पहिलो बलमै आउट भएका अभिषेकले त्यसको बदला अर्को भेटमा २९ बलमा ५७ रन प्रहार गर्दै दिएका थिए। प्लेअफमा भने उनको प्रदर्शन कमजोर रहेको तथ्यांकले देखाउँछ। अबको खेलमा उनले टोलीलाई जित दिलाउन सक्छन् कि सक्दैनन् भन्ने चासो बढेको छ।
हैदराबादका हेनरिक क्लासेन पनि उत्कृष्ट लयमा छन्। उनले यस सिजन १४ खेलमा ६०६ रन बनाइसकेका छन् र ओरेन्ज क्याप जित्ने सम्भावना बलियो देखिएको छ। उनले ३२ रन थपेमा शीर्ष स्थानमा पुग्नेछन्। यस्तै इशान किशनले ५६९ रन बनाएका छन्। बलिङतर्फ इशान मलिङ्गाले १९ विकेट लिएका छन्।
राजस्थानका लागि जोफ्रा आर्चर मुख्य बलिङ हतियार हुन्। उनले १४ खेलमा २१ विकेट लिएका छन्। आर्चरले यस सिजन ८.७६ को इकोनोमीमा बलिङ गरिरहेका छन्। कप्तान रियान पराग भने ह्यामस्ट्रिङ समस्याबाट गुज्रिरहेका छन्। यस्तै रविन्द्र जडेजा पनि चोटसँग संघर्ष गरिरहेका छन्।
हेड टु हेड तथ्यांकमा भने हैदराबाद अगाडि देखिएको छ। दुई टोलीबीच भएका २३ खेलमध्ये हैदराबादले १४ खेल जितेको छ भने राजस्थानले ९ खेलमा सफलता पाएको छ। यस सिजनका दुवै लिग खेलमा पनि हैदराबाद विजयी भएको थियो।
मुल्लानपुरको पिच ब्याटिङमैत्री मानिएको छ। पछिल्ला तीन खेलमा यहाँ २०० भन्दा बढी रन बनेका छन्। त्यसैले आज पनि उच्च स्कोरिङ खेल हुने अपेक्षा गरिएको छ। मौसम पनि तातो रहने अनुमान गरिएको छ, जहाँ तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ।