वर्षायाममा विद्यार्थीका सामग्री जोगाउन ‘अब उठ्छ स्याउले अभियान’को सक्रियता: सातकन्याका विद्यार्थीलाई झोला र रेनकोट वितरण
चौतारा, १५ जेठ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ यार्सास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र सुरक्षाका सामग्री वितरण गरिएको छ। “अब उठ्छ स्याउले अभियान”ले विद्यार्थीहरूलाई झोला र रेनकोट प्रदान गरेकाे हो।
नजिकिँदै गरेको वर्षायामलाई मध्यनजर गर्दै विद्यालय आउँदा–जाँदा विद्यार्थीहरूले बोक्ने पुस्तक र अन्य शैक्षिक सामग्री सुरक्षित रहून् भन्ने उदेश्यले यो सहयोग गरिएको अभियानले जनाएको छ।
अभियानका संयोजक एवं योजनाकार गोविन्द कार्कीको नेतृत्वमा सम्पन्न सो कार्यक्रममा काठमाडौँको क्षेत्रपाटीमा व्यवसाय गर्दै आउनुभएका समाजसेवी उत्तम कुमारले विद्यार्थीहरूका लागि आवश्यक झोलाहरू सौजन्य गर्नुभएको थियो। अभियानले उहाँको सामाजिक उत्तरदायित्वको भावनालाई उच्च कदर गर्दै प्रशंसा र आभार प्रकट गरेको छ।
यसैगरी, अभियानको प्रारम्भिक चरणदेखि नै महत्त्वपूर्ण भूमिका खेल्ने भेडाबारी निवासी सरोज कार्कीलाई समेत विशेष धन्यवाद दिइएको छ। उहाँको साथ, विश्वास र प्रेरणाले अभियानलाई अघि बढाउन ठुलो ऊर्जा मिलेको अभियानले जनाएको छ।
संयोजक गोविन्द कार्कीका अनुसार “अब उठ्छ स्याउले अभियान” को मुख्य उद्देश्य मानव जीवनका खुसीका क्षणहरूलाई समाज सेवासँग जोड्नु हो। “हामीले विवाह, व्रतबन्ध, जन्मदिन र वैवाहिक वर्षगाँठ जस्ता अवसरलाई सामाजिक उत्तरदायित्व र सहयोगसँग जोडेर एउटा सकारात्मक संस्कारको विकास गर्न खोजेका हौँ,” उहाँले भन्नुभयो।
स्याउले क्षेत्रको भूगोलका बालबालिका, विद्यार्थी र युवाहरूको शिक्षा तथा समग्र सामाजिक विकासका लागि यो अभियान निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ। अभियानले यस सहयोगलाई ‘दान’ वा ‘उपहार’ नभई समाजप्रतिको आफ्नो ‘कर्तव्य’का रूपमा लिएको स्पष्ट पारेको छ।
आगामी दिनमा पनि शिक्षा र मानवताका क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने बताउँदै संयोजक कार्कीले सम्पूर्ण बौद्धिक वर्ग, युवा, अभिभावक र जिम्मेवार निकायहरूबाट साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मकरध्वज श्रेष्ठलगाएतका उपस्थिती रहेकाे थियाे भने समाजसेवी पञ्चलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।