सुख्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, खाँदबारी–किमाथाङ्का सडकमा यातायात ठप्प
सङ्खुवासभा, १७ जेठ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सडकको करिब १५ मिटर भाग पुरेको छ। सडक अवरुद्ध भएसँगै सो मार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले पहिरो खसेको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताउनुभयो। तर, पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सडक खुलाउन तत्काल कठिनाइ भएको उहाँको भनाइ छ। उहाँले स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सडक पुनः सञ्चालन गराउने प्रयास भइरहेको जानकारी दिनुभयो।
खाँदबारी–किमाथाङ्का सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य लाइफलाइन हो। सडक बन्द हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु र अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारीसाधनहरू प्रभावित भएका छन्।
उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले पछिल्लो समय सडक आसपासका कमजोर भौगर्भिक बनोट भएका भिरालो क्षेत्रमा सुख्खा पहिरो खस्ने जोखिम बढेको बताउनुभयो। उहाँले चट्टानहरू कमजोर रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रुहरूलाई आग्रह गर्नुभयो।