मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

एजेन्सी, १८ जेठ । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी प्रतिबन्ध लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियम अनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता (एकाउन्ट) खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।

नयाँ व्यवस्था अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायतका प्रमुख सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले आफ्ना प्रयोगकर्ताहरूको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोक्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। नियम पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।

यदि बालबालिकाहरूले प्राविधिक उपाय अपनाई नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकहरूलाई भने कुनै कानुनी कारबाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई नै जिम्मेवार र उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।

मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीतिको उद्देश्य बालबालिकालाई इन्टरनेटबाट टाढा राख्नु नभई उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारेको छ।

बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियमन लागू गर्ने मलेसिया विश्वको पछिल्लो देश बनेको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध सम्बन्धी कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायतका देशहरूले पनि यस्तै कानुन निर्माणको गृहकार्य गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *