प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दै

काठमाडौँ, १८ जेठ । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसद्‍मा दिनुभएको विवादित अभिव्यक्तिप्रति साझा धारणा तय गर्न विपक्षी दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अग्रसरतामा आज मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

नेपाली कांग्रेसका सचेतक निश्कल राईका अनुसार बैठकमा प्रधानमन्त्रीको पछिल्लो सीमासम्बन्धी विवादित भनाइ र समसामयिक राजनीतिक विषयहरूमाथि विपक्षी दलहरूबीच संयुक्त रणनीतिका बारेमा गहन छलफल हुनेछ।

आइतबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर सत्रमा बोल्दै प्रधानमन्त्रीले नेपाल–भारत सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने धारणा राख्नुभएको थियो। सोही क्रममा उहाँले भन्नुभएको थियो, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।” प्रधानमन्त्रीले दुवै देशकाे वस्तुनिष्ठ अध्ययन नगरी यस्ताे धारणा राखेपछि स्थापित ऐतिहासिक तथ्य र राष्ट्रिय कूटनीतिक मान्यता विपरीत भन्दै विपक्षी दलहरूले संसद्‍मै कडा आपत्ति जनाएका छन्।

उनीहरूले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हित प्रतिकूल रहेको उल्लेख गर्दै यसलाई संसद्को आधिकारिक अभिलेख (रेकर्ड) बाट तत्काल हटाउन माग गरिरहेका छन्। आज बस्ने सर्वदलीय बैठकले यस विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस रणनीति बनाउने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *