तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते : एकको अवस्था गम्भीर

काठमाडौँ, जेठ २१ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१-००१ झ ००४६ नम्बरको एम्बुलेन्स आज बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना र मिनी ट्रकका चालक गरी कुल सात जना घाइते भएका छन् । घाइतेमध्ये एम्बुलेन्समा सवार २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा एम्बुलेन्स चालक रोल्पा थवाङ २ का २४ वर्षीय कुशल परियार, सोही स्थानका ६१ वर्षीया जुनराखी बुढा मगर, तीन वर्षीय बालक युवान बुढा मगर र ६० वर्षीय धनप्रसाद बुढा मगर रहेका छन् । त्यसैगरी पूर्वी रुकुम भुमे गाउँपालिका ७ का ३६ वर्षीया चिजामाया घर्ती पनि दुर्घटनामा घाइते भएकी छिन् ।

घाइते सबैको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।