प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको एमालेको दाबी, संसद्मै माफी माग्न माग

काठमाडौँ, २५ जेठ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र साहले दिनुभएको अभिव्यक्तिप्रति नेकपा (एमाले) ले संसद्मै क्षमा माग्नुपर्ने अडान राखेको छ। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले एमाले संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्ने समय दिनुभएको थियो।

बैठकमा बोल्दै उपनेता अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको गम्भीर उल्लंघन गरेको आरोप लगाउनुभयो। “प्रधानमन्त्रीज्यूले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ,” उहाँले भन्नुभयो, “यस विषयमा प्रधानमन्त्रीबाट तत्काल भूल सुधार र क्षमा याचना गरिनुपर्छ।”

गत जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेनले नेपाल-भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सम्बन्धमा बोल्ने क्रममा विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। त्यस क्रममा उहाँले भन्नुभएको थियो, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

नेपालले छिमेकी मुलुकको भूमि मिचेको भन्ने दाबी प्रधानमन्त्रीस्तरबाटै आउनु कूटनीतिक संवेदनशीलताको दृष्टिले निकै गम्भीर भएको एमालेको ठहर छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा क्षमा नमागेसम्म संसद्को अवरोध जारी राख्ने अडान एमालेसहितका विपक्षी दलहरूले लिएका छन्।