डिजिटल सुधारबाट बिरामीलाई सहजता प्रदान गर्ने काममा कार्यवाहक प्रमुख डंगोलको नेतृत्व नतिजामूलक : अस्पतालको रुप फेरियो
काठमाडौँ, जेठ २१ । सरकारी अस्पताल भन्नेबित्तिकै हाम्रो मानसपटलमा एउटा चित्र झल्किन्छ, टिकटका लागि घण्टौँ लामो लाइन, रिपोर्ट लिन उत्तिकै सास्ती र बिल तिर्नका लागि झन्झटिलो प्रतीक्षा । तर, काठमाडौँको जेठो र व्यस्त शिक्षण अस्पताल (टिचिङ) मा अब यो दृश्य इतिहास बन्ने बाटोमा छ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको सक्रियता र ‘बिरामीमैत्री सेवा’ दिने दृढ संकल्पले टिचिङ अस्पतालमा डिजिटल क्रान्तिको सुरुवात भएको छ ।
मंगलबार एक विशेष कार्यक्रमका बीच कार्यवाहक प्रमुख डङ्गोलले शिक्षण अस्पताललाई १ करोड ७० लाख १६ हजार ६७० रुपियाँ बराबरका अत्याधुनिक प्रविधि र उपकरण हस्तान्तरण गर्नुभयो । यो सहयोग केवल मेसिनहरूको हस्तान्तरण मात्र थिएन, बरु सरकारी स्वास्थ्य सेवालाई झन्झटमुक्त बनाउने एउटा साहसिक कदम थियो ।
प्रविधिले हटाउनेछ लाइनको सास्ती
महानगरले उपलब्ध गराएका उपकरणहरूमा १६ वटा ‘इन्टर्याक्टिभ किओक्स’ मेसिन छन् । यी मेसिनहरूले बिरामीका आफन्तलाई बिल तिर्न लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति दिनेछन् । अब बिरामी आफैँले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्नेछन् भने घरबाटै उपचारका लागि पैसा जम्मा गर्न सक्ने सुविधा समेत थपिएको छ ।
यसका साथै, अस्पतालको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउन ६५ वटा ‘अल इन वन’ डेस्कटप र सर्भरको क्षमता वृद्धि गरिएको छ। यसले गर्दा बिरामीको सबै विवरण एकै ठाउँमा सुरक्षित रहनेछ र डाक्टरहरूलाई उपचार प्रक्रियामा सहज हुनेछ ।
“बिरामीलाई थप पीडा नहोस्” – कार्यवाहक प्रमुख डंगोल
उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “बिरामी र उहाँका आफन्तहरू अस्पताल आउँदा पहिले नै शारीरिक र मानसिक पीडामा हुनुहुन्छ। अस्पतालमा आएपछि फेरि पैसा तिर्न र टिकट काट्न घण्टौँ लाइनमा बसेर उहाँहरूले थप सास्ती भोग्नु नपरोस् भन्ने हाम्रो चाहना हो।”
उहाँको यो भनाइले स्थानीय सरकार नागरिकको दैनिक समस्याप्रति कति संवेदनशील छ भन्ने प्रष्ट पार्छ । डङ्गोल थप्नुहुन्छ, “सहर सफा गर्ने दायित्वबाट सुरु भएको महानगर आज शिक्षा, स्वास्थ्य र नागरिकका हरेक समस्यामा जोडिएको छ । हामी प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवालाई सहज बनाउन प्रतिबद्ध छौँ ।”
‘पेपरलेस’ र ‘फेसलेस’ सेवाको लक्ष्य
महानगरको यो सहयोगले शिक्षण अस्पताललाई आधुनिक युगमा प्रवेश गराएको छ। अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यका अनुसार यो सहयोगले सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनेछ । “पहिलो चरणको यो सहयोगले बिरामीले महसुस गर्ने गरी परिवर्तन ल्याउनेछ,” उहाँले भन्नुभयो, “आगामी दिनमा हामी क्यान्सर लगायतका गम्भीर उपचार सेवालाई ‘पेपरलेस’ (कागजविहीन) र ‘फेसलेस’ (सम्पर्कविहीन) बनाउने लक्ष्यमा छौँ ।”
महानगरको निरन्तर साथ
काठमाडौँ महानगरपालिकाले यसअघि पनि कोभिड १९ को समयमा भेन्टिलेटर, सिटी स्क्यान मेसिन र बेड क्यु सिस्टम जस्ता महत्त्वपूर्ण सहयोग शिक्षण अस्पताललाई उपलब्ध गराइसकेको छ । महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.का अनुसार, यो लगानीको मुख्य उद्देश्य महानगरबासी र देशभरबाट आउने बिरामीलाई गुणस्तरीय र छिटो छरितो स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो ।
प्रविधि र साधनको अभावमा सरकारी अस्पतालहरू सधैँ आलोचनाको केन्द्रमा रहन्थे। तर, सुनिता डङ्गोल जस्ता युवा र भिजनरी जनप्रतिनिधिको सक्रियताले अब सरकारी अस्पतालहरू पनि निजी अस्पतालभन्दा कम छैनन् भन्ने सन्देश प्रवाह भएको छ । शिक्षण अस्पतालमा भित्रिएको यो प्रविधिले हजारौँ बिरामीको समय मात्र जोगाउने छैन, यसले सरकारी स्वास्थ्य सेवाको साख समेत उच्च बनाउने निश्चित छ ।