संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन, पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटेर सुझाव लिने
काठमाडौँ, २१ जेठ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदलले मुलुकका दुई पूर्वराष्ट्रपतिहरूसँग भेट गरी महत्वपूर्ण सुझाव सङ्कलन गरेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो ।
भेटका क्रममा दुवै पूर्वराष्ट्रप्रमुखले संविधानलाई समयसापेक्ष बनाउन राष्ट्रिय सहमति अनिवार्य रहेको र मुख्य संवैधानिक स्तम्भहरूलाई नचलाई प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान संशोधन जस्तो गम्भीर विषयमा जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गर्न कार्यदललाई सुझाव दिनुभयो । सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धिको रक्षा गर्दै नयाँ पुस्ताको भावना समेट्नुपर्ने उहाँको धारणा थियो । उहाँले विश्वका सफल लोकतान्त्रिक अभ्यासहरूबाट पनि सिक्न सकिने उल्लेख गर्नुभयो ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्णायक मत भएका दलहरूले चाहेमा संविधान संशोधनको प्रक्रिया सहज हुने बताउनुभयो । उहाँले हालको समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग बढेको भन्दै यसलाई इमानदार र क्षमतावान् कार्यकर्ताका लागि मात्र उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
“महिलाहरूको एक–तिहाइ सहभागितालाई अझ प्रभावकारी बनाउन अब प्रत्यक्ष निर्वाचनमै उनीहरूको सङ्ख्या र क्षेत्र सुनिश्चित गरिनुपर्छ,” भण्डारीले भन्नुभयो, “शीर्ष नेताहरू प्रत्यक्षमा नउठी ती क्षेत्र महिलाका लागि सुरक्षित गर्ने खालको सुधार आवश्यक छ ।” उहाँले राजदूतहरूलाई सरकार परिवर्तन हुनासाथ फिर्ता बोलाउने परिपाटी अन्त्य हुनुपर्ने र संवैधानिक आयोगहरूको १० वर्षे समीक्षा गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यदलका संयोजक असिम शाहले पूर्वराष्ट्रपतिद्वयबाट प्राप्त मार्गदर्शक सुझावहरूले बहसपत्रलाई थप परिपक्व बनाउन मद्दत पुग्ने बताउनुभयो । कार्यदलले अब पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटेर सुझाव लिने तयारी गरेको छ । सबै पक्षका सुझावहरू समेटेर तयार पारिने बहसपत्रलाई अन्त्यमा राष्ट्रिय स्तरमा छलफलका लागि सार्वजनिक गरिने कार्यदलले जनाएको छ ।