‘जेनजी’ आन्दोलनमा बाल सुधार गृहबाट फरार भएका किशोर तेस्रोपटक चोरी गर्दा गर्दै पक्राउ
धादिङ, २७ जेठ । जेनजी आन्दोलनका क्रममा भक्तपुरस्थित बाल सुधार गृहबाट फरार भएका एक किशोर धादिङमा पुनः चोरीको आरोपमा पक्राउ परेका छन् । १९ वर्षीय याकुव नेपालीलाई चोरीका गहना र नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका–११, सिम्ले बस्ने नेपालीले नेत्रावती डबजोङ गाउँपालिका–४ का मीनबहादुर तामाङको घरमा चोरी गरेका थिए । जेठ २५ गते दिउँसो तामाङको घरको ताला फोरेर दराजमा रहेको सुनका गहना र नगद चोरी भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
प्रहरीले नेपालीको खानतलासी गर्दा उनको साथबाट चोरी भएको एक थान सुनको नौगेडी, तीन थान औँठी, एउटा मोबाइल र ४ हजार १०० रुपैयाँ नगद बरामद गरेको छ । स्थानीयको सूचना र प्राविधिक अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार याकुव नेपाली पुराना ‘सिरियल चोर’ हुन् । यसअघि बागलुङमा सुनका गहना चोरी गरेको मुद्दामा उनले २ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय पाएका थिए ।
त्यसपछि पुनः २०८१ असोजमा धादिङकै सिद्धलेक गाउँपालिकामा ६४ हजारभन्दा बढी नगद चोरी गरेको मुद्दामा उनलाई २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । सोही मुद्दाको सजाय भुक्तानका लागि उनलाई भक्तपुरस्थित बाल सुधार गृहमा राखिएको थियो । तर, केही समयअघि भएको ‘जेनजी’ आन्दोलनका क्रममा सुधार गृहमा भएको झडप र अस्तव्यस्तताको फाइदा उठाउँदै उनी त्यहाँबाट फरार भएका थिए ।