विश्वकप २०२६: कामदाको निर्णायक गोलमा जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्यो

 

काठमाडौं । फिफा विश्वकप २०२६ को तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा एसियाली शक्ति राष्ट्र जापानले युरोपेली टोली नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको उक्त खेलका चारै गोल दोस्रो हाफमा सम्भव भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ५१ औं मिनेटमा कप्तान भर्जिल भान डाइकले उत्कृष्ट गोल गर्दै डच टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

तर, जापानले खेलमा फर्कन धेरै समय लगाएन । ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्स पुनः २–१ ले अघि बढेको थियो । नेदरल्यान्ड्स जिततर्फ उन्मुख देखिए पनि खेलको अन्त्यतिर जापानले नाटकीय पुनरागमन गर्‍यो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा (८९ औं मिनेटमा) दइची कमाडाले गोल गर्दै जापानको हार टारेका थिए । यस बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन् । विश्वकपको तयारीमा रहेका दुवै टोलीका लागि यो नतिजा र प्रदर्शन महत्वपूर्ण मानिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, दोस्रो हाफमा जापानको आक्रामक लयले नेदरल्यान्ड्सको रक्षापंक्तिलाई निकै दबाबमा राखेको थियो । विशेषगरी अन्तिम समयमा कामदाको गोलले जापानलाई मनोवैज्ञानिक राहत मिलेको छ ।