नागढुङ्गा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने : तयारी अन्तिम चरणमा
काठमाडौँ, असार ३ । नेपालकै पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भएसँगै आन्तरिक व्यवस्थापन र प्राविधिक परीक्षणका कामहरू तीव्र पारिएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश कामहरू सकिएका छन् । “हाल सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आकस्मिक अवस्थामा गरिने उद्धार र सवारी व्यवस्थापनका विषयमा प्राविधिक परीक्षण भइरहेको छ,” उहाँले भन्नुभयो, “अहिले सुरुङबाहिरको पहिरो रोकथामको काम मात्र बाँकी छ ।”
कुल २,६८८ मिटर लम्बाइ रहेको यो सुरुङमार्ग विभिन्न प्राविधिक कारण र अवरोधले गर्दा तोकिएको समयभन्दा केही ढिला गरी सम्पन्न हुन लागेको हो। सुरुङमार्गको सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनको जिम्मेवारी युसिन एआरटी कम्पनीले ५ वर्षका लागि रु १ अर्ब १० करोडमा प्राप्त गरेको छ। सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन गर्न १५० जना जनशक्ति परिचालन गरिनेछ ।
भुक्तानी प्रणाली र सवारी चाप
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तीन वटा माध्यमबाट दस्तुर बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। चालकले नगद, क्यूआर कोड स्क्यानिङ वा सवारीमा टाँसिएको स्टिकरलाई क्यामेरामार्फत रिड गराएर दस्तुर तिर्न सक्नेछन् । सङ्कलित रकम सडक बोर्ड नेपालको खातामा दाखिला हुनेछ ।
आयोजनाको अनुमानअनुसार नागढुङ्गा नाकाबाट दैनिक गुड्ने करिब ८ हजार सवारीसाधनमध्ये ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्नेछन् । यस मार्गमा दुईपाङ्ग्रे सवारीसाधनलाई भने प्रवेश निषेध गरिएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर यसरी तोकेको छ । हलुका सवारी (कार, भ्यान, जिप, पिकअप, माइक्रोबस) काठमाडौँ प्रवेश गर्दा ६५ रुपियाँ, काठमाडौँबाट बाहिरिँदा ६० रुपियाँ, मध्यम सवारी (मिनीबस, मिनी टिपर/ट्रक) काठमाडौँ प्रवेश गर्दा १२५ रुपियाँ, काठमाडौँबाट बाहिरिँदा ८० रुपियाँ, भारी सवारी (बस, ट्रक – सिंगल रियर एक्सल) काठमाडौँ प्रवेश गर्दा २६० रुपियाँ, काठमाडौँबाट बाहिरिँदा २०० रुपियाँ, अति भारी सवारी (मल्टिएक्सल ट्रक, ठूला उपकरण) काठमाडौँ प्रवेश गर्दा ६०० रुपियाँ, काठमाडौँबाट बाहिरिँदा २५० रुपियाँ दस्तुर बुझाउनु पर्नेछ ।
यस सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको घुम्ती र जामबाट मुक्ति मिल्नुका साथै यात्रा छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।