विश्वकप फुटबलमा इरान विरुद्ध अमेरिकाकाे ‘यात्रा प्रतिबन्ध’ : फिफामा उजुरी दर्ता गर्ने

एजेन्सी, ५ असार । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ का क्रममा इरान र आयोजक राष्ट्र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । आफ्नो राष्ट्रिय फुटबल टोलीमाथि अमेरिकाले कडा ‘यात्रा प्रतिबन्ध’ लगाएको भन्दै इरानी फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ ।

संयुक्त राज्य अमेरिकाले खेलअघि पर्याप्त समय दिन र भ्रमण सहज बनाउन अस्वीकार गरेको भन्दै इरानले आयोजकको व्यवस्थामाथि गम्भीर आपत्ति जनाएको हो ।

इरानले आगामी आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध समूह चरणको महत्वपूर्ण खेल खेल्दैछ । हाल मेक्सिकोको तिजुआनामा प्रशिक्षण शिविरमा रहेको इरानी टोलीले खेलको तयारी र वातावरणसँग अनुकूलन गर्नका लागि दुई दिनअघि नै अमेरिका प्रवेशको अनुमति मागेको थियो । तर, अमेरिकी प्रशासनले इरानको उक्त अनुरोधलाई अस्वीकार गरिदिएको छ ।

इरानी फुटबल महासङ्घका प्रवक्ताले भनेका छन्, “हामीले रणनीतिक तयारी र अभ्यासका लागि समय मागेका थियौँ, तर आयोजकले यात्रा प्रतिबन्ध लगाएर हाम्रो प्राविधिक पक्षलाई प्रभावित पार्ने काम गरेको छ । खेल स्थानीय समयअनुसार दिउँसो हुने भएकाले टोलीलाई दुई दिनअघि पुग्नु अनिवार्य थियो ।”

यता, अमेरिकी प्रशासनले भने इरानको आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानका लागि विशेष सुरक्षा र यात्रा प्रोटोकल तय गरिएको स्पष्ट पार्नुभएको छ ।

जुलियानीका अनुसार इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइनेछ र खेल सकिएकै दिन उनीहरूले अमेरिका छोड्नुपर्नेछ । यो नियम लस एन्जलसको खेलमा मात्र नभई सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुने अमेरिकाले जनाएको छ ।

मध्यपूर्वमा जारी युद्ध र दुई देशबीचको राजनीतिक शत्रुताका कारण इरानको विश्वकप यात्रा सुरुदेखि नै विवादित र चुनौतीपूर्ण देखिएको छ । इरानले आफ्ना १५ जना टोली अधिकारीलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको गुनासो गरेको छ ।
यसअघि न्युजिल्यान्डसँगको खेलपछि पनि लस एन्जलसबाट तत्काल बाहिरिनुपर्दा टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानको दाबी छ । सुरक्षा संवेदनशीलता देखाउँदै इरानले यसअघि नै आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सारेको थियो ।

खेल र राजनीति मिसाउन नहुने फिफाको मान्यता भए पनि अमेरिका र इरानबीचको यो विवादले विश्वकपको मैदान बाहिर नयाँ खालको ‘कोल्ड वार’ सुरु भएको छ ।