मातृभूमिमा लगानी गरी प्रतिफल प्राप्त गर्न अमेरिकी नेपालीलाई दूतावासको आग्रह

वासिङ्टन डिसी, ७ असार। अमेरिकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली प्रवासी (डायस्पोरा) हरूलाई नेपालका जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन जस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ।

दूतावासले वासिङ्टन डिसीमा आयोजना गरेको ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले मातृभूमिको विकासका लागि पुँजी र प्रविधि परिचालन गर्न अपिल गरेका हुन्।

कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद्राज अरणले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र आर्जित पुँजीलाई नेपालको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले गैरआवासीय नेपालीहरूका लागि नेपाल सरकारले लगानीमैत्री वातावरण र नीतिगत सहजता निर्माण गरेकाले ढुक्क भएर नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो।

यसैगरी, महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा हाल सूचना प्रविधि, पर्यटन र जलविद्युत् क्षेत्रबाट उच्च प्रतिफल प्राप्त भइरहेको जानकारी दिँदै प्रवासी नेपालीहरूलाई यी क्षेत्रमा उपलब्ध लगानीका अवसरहरू उपयोग गर्न आग्रह गर्नुभयो।

उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेसा र व्यवसायमा स्थापित नेपालीहरूले आफ्नो सीप र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने बताउनुभयो। उहाँले नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) लाई उपभोगमा मात्र सीमित नराखी उत्पादनशील क्षेत्रमा लगानी गर्नसके मुलुकको आर्थिक रूपान्तरणमा ठूलो टेवा पुग्ने सुझाव दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *