अमेरिका र इरानबीच जेनेभामा उच्चस्तरीय वार्ता सुरु, होर्मुज जलसन्धि पुनः बन्द गर्ने इरानको चेतावनी

एजेन्सी, ७ असार । मध्यपूर्व द्वन्द्व समाधानका लागि संयुक्त राज्य अमेरिका र इरानबीचको नयाँ चरणको उच्चस्तरीय वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुँदैछ।

वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल जेनेभा पुगिसकेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि युरोप प्रस्थान गर्नुभएको छ। यद्यपि, लेबनानमा इजरायली सैन्य कारबाही जारी रहेको भन्दै इरानले सामरिक रूपमा अत्यन्त संवेदनशील मानिने जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेपछि वार्ता सुरु हुनुअघि नै नयाँ कूटनीतिक तनाव सिर्जना भएको छ।

युरोप प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धविरामसम्बन्धी विषयमा कूटनीतिक प्रगति हुने आशा व्यक्त गर्नुभयो। यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख जनरल असिम मुनिर पनि स्विट्जरल्याण्ड प्रस्थान गर्नुभएको छ। वार्तामा अमेरिकी पक्षबाट सहजकर्ता जारेड कुशनर र स्टिभ विटकफ सहभागी हुनुहुन्छ भने इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गर्नुभएको छ।

इरानको केन्द्रीय सैन्य कमाण्डले दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धविराम उल्लङ्घन गरेको र अमेरिकाले प्रारम्भिक सम्झौता पालना नगरेको आरोप लगाउँदै मालवाहक जहाजहरूको आवतजावतका लागि ‘स्ट्रेट अफ होर्मुज’ पुनः बन्द गरिने चेतावनी दिएको छ। विश्वको तेल तथा ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने यो जलमार्ग खुला राख्न यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच प्रारम्भिक सहमति भएको थियो।

इरानको यस चेतावनीपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवतजावत कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ। यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले जेनेभा वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुज जलमार्गमा आफ्नै छुट्टै शुल्क प्रणाली (ट्यारिफ) लागू गर्न सक्ने चेतावनी दिनुभएको छ।

यसैबीच, लेबनानमा घोषित युद्धविरामको पालना हुन सकेको छैन। इजरायली सेना र हिज्बुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै शनिबार पुनः भीषण आक्रमण गरेका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ। हिज्बुल्लाहले इजरायली सेनामाथि ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ भने इजरायलले आफ्ना एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।