रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट : उद्घाटन सत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू चितवनमा

काठमाडौँ, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ ।

समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थल पुगिसक्नुभएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि महाधिवेशनमा भाग लिन चितवन पुग्नुभएको हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । नेपाली कांग्रेसका नेता गगनकुमार थापा भने केही बेरमा चितवन पुग्ने कार्यक्रम रहेको छ ।

भरतपुरमा हुन लागेको यस महाधिवेशनलाई रास्वपाको साङ्गठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । विभिन्न दलका नेताहरूको उपस्थितिले राजनीतिक सद्भाव र सहकार्यको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।