योगाभ्यास र प्रवचनसहित काठमाडौँमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ, ७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज काठमाडौँको दशरथ रङ्गशालामा योगाभ्यास तथा प्रवचन कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिद्वारा आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय भइसकेको जानकारी गराउनुभयो। उहाँले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यका पाठ्यक्रम तर्जुमा गरी पठनपाठन सुरु भइसकेको उल्लेख गर्दै जनमानसमा योगको लाभ बुझाउन थप चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले शारीरिक तथा मानसिक निरोगिताका लागि नियमित योगाभ्यास महत्वपूर्ण रहेको र यसले समाज एवं राष्ट्रलाई स्वस्थ बनाउन मद्दत गर्ने बताउनुभयो।

जीवन विज्ञान नेपालका एलपी भानु शर्माले योगलाई शारीरिक, मानसिक र आध्यात्मिक दुःख निवारणको बलियो माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालकै प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले आरोग्य दिवसको घोषणा गरेको जानकारीसमेत दिनुभयो।

हरेक वर्ष जुन २१ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउन थालिएको हो।

नेपालमा भने वि.सं. २०३६ माघ १ गतेदेखि नै राष्ट्रिय योग दिवस मनाउन प्रारम्भ गरिएको थियो। रङ्गशालामा आयोजित आजको कार्यक्रममा योगासनका साथै यसको वैज्ञानिक र व्यावहारिक महत्वका बारेमा प्रकाश पारिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *