झापाको गौरीगञ्जमा सर्पकाे टोकाइबाट ८८ वर्षीया वृद्धाको मृत्यु
झापा, ८ असार । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ। आइतबार साँझ कुखुराको खोर बन्द गर्ने क्रममा सर्पले डस्दा स्थानीय ८८ वर्षीया पञ्चमाया शेर्माको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार आइतबार साँझ खोरको ढोका लगाउने क्रममा नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको विषालु सर्पले शेर्माको दाहिने हातको माझी औँलामा डसेको थियो।
सर्पदंशबाट गम्भीर बिरामी पर्नुभएकी शेर्मालाई तत्काल थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
उपचारका क्रममा गएराति उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल बीएण्डसी अस्पतालमै राखिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डीएसपी अवाले जानकारी दिनुभयो।