मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, एमबाप्पे शीर्ष पाँचमा उक्लिए

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फिफा विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन जारी राख्दै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडेका हुन्।

अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि मेस्सीको विश्वकप गोल संख्या १८ पुगेको छ। यसअघि क्लोजे १६ गोलसहित विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता थिए।

३९ वर्षीय मेस्सीले सन् २००६ देखि २०२६ सम्मका छ विश्वकप संस्करणमा सहभागिता जनाउँदै २८ खेलमा १८ गोल गरेका छन्। उनले २०२२ को कतार विश्वकपमा सात तथा जारी विश्वकपमा हालसम्म पाँच गोल गरिसकेका छन्।

सर्वाधिक गोलकर्ताको सूचीमा ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा छन्। जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पे समान १४ गोलसहित संयुक्त चौथो स्थानमा रहेका छन्।

फ्रान्सका कप्तान एमबाप्पेले जारी विश्वकपमा दुई गोल थप्दै आफ्ना देशका महान् खेलाडी जस्ट फोन्तेनलाई उछिनेका छन्। फोन्तेनले सन् १९५८ को विश्वकपमा मात्र १३ गोल गरेका थिए।

ब्राजिलका फुटबल सम्राट पेले १२ गोलसहित सातौं स्थानमा छन् भने जर्गेन क्लिन्समान, सान्दोर कोचिस, गेब्रियल बातिस्तुता, ह्यारी केन, थोमस मुलर, ग्यारी लिनेकर र टेओफिलो कुबिल्यासलगायतका खेलाडी १० वा सोभन्दा बढी गोल गर्ने खेलाडीहरूको सूचीमा समावेश छन्।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा व्यक्तिगत कीर्तिमानको नयाँ उचाइ छुँदै मेस्सीले आफ्नो नाम फेरि एकपटक इतिहासको शीर्ष स्थानमा स्थापित गरेका छन्। अर्जेन्टिना जारी विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको अवस्थामा मेस्सीको गोल संख्या अझै बढ्ने सम्भावना रहेको छ।